जन्म आफैँमा एउटा अचूक घातक रोग हो र यसको कुनै उपचार असम्भव छ ।

समाजमा सबैले बुझेर पनि अबुझ लाग्ने, ज्ञात भएर पनि अज्ञात लाग्ने र हुनलाई अत्यन्त सामान्य प्राकृतिक प्रक्रिया भएर पनि जहिले पनि घटित हुने बेलामा वा जस-जसको वृत्तमा घटित हुन्छ तीनलाई अत्यन्त अप्राकृतिक लाग्ने एउटा शारीरिक प्रक्रिया छ । यही असामान्य पीडा बोकेर ल्याउने सामान्य घटना नै मृत्यु हो, जसको बारेमा मानिसहरू बोल्न, लेख्न वा सोच्न समेत हच्किने गर्छन् ।

विगतको करिब डेढ वर्षको अवधिमा मैले त्यो असामान्य तर प्राकृतिक घटनालाई एकदमै नजिकबाट व्यहोर्नु पर्‍यो । वा सामान्य शब्दमा भन्दा, गएको डेढ वर्षको समयावधिमा म आफन्तको ४-५ वटा मृत्यु संस्कारमा सरिक हुनुपर्यो । ती मध्य पनि दुईवटा घटनामा म त्यस अबुझ घटनाको प्रत्यक्ष साक्षी समेत बनेँ । अर्थात् मैले हेर्दा हेर्दै वा मेरै आँखा अगाडि दुईवटा जीवन ऊर्जाहीन भएर मृत्युको मुखमा प्रवेश गरे ।

सोचको उपज:

जीवन, जगत र अध्यात्ममा केही रुचि भएकोले यी घटना हुनु अगाडि र पछाडि पनि यस बारेमा केही किताब र भेटे जत्तिको सूचनाहरूको अध्ययन गरेँ । हुन त यस अघि पनि मृत्युका घटनाहरू नदेखेको र नभोगेको हैन् तर यो बीचको समयमा भने विचारमा केही परिवर्तनहरू आए ।

त्यसो त नेपाली भाषामा एउटा ‘घाटे वैराग्य’ भन्ने शब्दावली पनि छ । जुन शब्दले समाजको उतार-चढाव र दैनादिनको उपक्रममा व्यस्त व्यक्तिलाई घाटमा पुग्दा वा कुनै जलिरहेको लासलाई देख्दा एकैछिनको लागि मनमा उठ्ने वैराग्यलाई इङ्गित गर्छ । यस्तो ‘घाटे वैराग्य’ पहिला पनि कुनै मृत्युको समाचार सुन्दा, देख्दा आउने गर्थ्यो ।

सोध-खोज

कुनै परिवारमा एउटा मृत्यु घटित हुने बित्तिकै सबैभन्दा पहिलो र प्रमुख प्रश्नको रूपमा एउटा वाक्य चारै तिरबाट वर्षन्छ –- “के भा थ्यो ... ?” -- । अनि जस्तो सुकै र जे सुकै घातक रोग लागेका व्यक्ति भए पनि परिवार र आफन्त जनले करिब करिब एउटै उत्तर दोहर्‍याउँछन् :- “खासै केही थिएन...एकैछिन अगाडि सम्म ठिकै थियो...” । त्यसपछि मृत्युको कारण केलाउन थालिन्छ । ...टिवी थियो, क्यान्सर थियो, हेपाटाइटिस... वा अरू कुनै... ।

तर मलाई लाग्छ मानिस वा कुनै पनि प्राणीको मृत्यु पछाडि कुनै रोगको कारण खोज्नु वेअर्थी छ । किनकी यो संसारमा सबैभन्दा खतरनाक र घातक रोग भनेको ‘जन्म’ नै हो । मेडिकल साइन्सको दृष्टिबाट यो कुरा बेमेल लाग्न सक्छ । तर कुरा यही नै हो । कुनै मानिस १० औं वर्षसम्म' एच. आई. भि. सँग जुधेर नि बाँच्न सक्छ, अर्को मानिस, क्यान्सर पालेरै रहन सक्छ भने कोही व्यक्ति अर्कै कुनै घातक रोग हुँदाहुँदै पनि निकै समय जीवित रहन सक्छ । तर त्यसको उल्टो मैले देखेका र सुनेका (सुनेको मतलब ‘गफ’ चाहिँ हैन् है !) मृत्युहरू यस्ता पनि थिए:

अबुझ मृत्यु:

मेरो एकजना साथिको दाई बाथरुममा दाह्रि काट्दा काट्दै बिते, उनको एकापट्टिको गाला सफा थियो भने अर्को पट्टिको दाह्री काट्न बाँकी थियो । अर्को एकजना हितैषी बाटोमा ठेस लागेर मरे, न कुनै रोग थियो न कुनै दुर्घटना नै थियो त्यो । अर्का एकजना साथीको बाबु साँझमा झ्यालको छेस्किनी लगाउन लाग्दा छेस्किनीले औँला च्याप्दा त्यसैको निहुँमा बिते । लेख्दा वा पढ्दा उटपट्याङ्ग समेत लाग्न सक्छ तर तास खेल्दा खेल्दै मरेका, कुरा गर्दा गर्दै बितेका र मन्दिरमा पसेर भगवान दर्शन गर्दा गर्दै स्वर्गे भएका मानिसहरूको पनि मैले चिनेकै मानिसहरू थिए । तिनलाई कुनै रोग थिएनन् र उनीहरू मर्नु पर्ने कुनै कारण देखिँदैन थ्यो ।

कारण के हो त ?:

हुन त खुला तथ्य हो, तर आजकल मलाई लाग्न थालेको छ मृत्युको कारण वा मानिसको सबैभन्दा ठूलो रोग भनेको ‘जन्म’ नै हो । हो जन्म !। जन्म मृत्युको लागि नभइ नहुने अपरिहार्य कारण हो र यही नै मानिसको सबैभन्दा ठूलो रोग हो । किनकी मानिस टिबी, क्यान्सर, एड्स आदि हुँदा-हुँदै पनि बाँच्न सक्छ भने अर्को तर्फ सामान्य रुघा-खोकी समेत नलाग्दा समेत उसको कुनै पनि बेलामा मृत्यु हुन सक्छ । त्यसैले मृत्युको लागि कुनै रोग हुनु कतैबाट पनि जरुरी छैन्। जरुरी छ त केवल कोही जीवित हुनु मात्रै ।

उपलब्धि:

माथी नै लेखिसके, विगतका १८ महिनामा करिब ४-५ पटक आर्यघाट पुगेँ । अनि हरेक पल्ट ‘घाटे वैराग्य’ लिएर फर्कन्थें। तर अहिले भने विस्तारै कुनै मृत्युको खबर सुन्दा वा कोही बितेको खबर पाउँदा अचम्म लाग्न वा छक्क पर्न छाडेको छु । आजकल “कसैको मृत्यु भयो रे” भन्ने खबर सुन्दा पहिला पहिला जस्तो मथिङ्गल छचल्किन छाडेको छ । कुनै पनि मृत्युको खबर आउँदा मनमा लाग्छ ‘ए! ...हो त, ..जन्मेको थियो त्यसैले मरेछ...” । अरू कसैले मलाई मृत्युको कारण, रोगको इतिहास बताउन थाले भने मलाई त्यो पनि बेअर्थी लाग्छ । सोच्छु, मानिस जन्मन्छ त मर्छ नै ...रोग लाग्नु- नलाग्नु भिन्दै कुरा हुन् । न मर्नको लागि रोग लाग्नु पर्छ, न रोग लाग्दैमा कोही मर्छ नै। मर्नको लागि केवल एउटै मात्रै शर्त आवश्यक हुन्छ त्यो जन्म नै हो । जुन संसारमा सबैभन्दा घातक रोग हो ।

उपसंहार:

म औषधि विज्ञानको विरोधी र चिकित्सा शास्त्रको विपक्षी पक्कै होइन् । मलाई ज्ञात छ, औषधि विज्ञानका ज्ञाताहरू आफैँले “Medical science is the most backward science” भन्ने गरे पनि अहिलेको समयमा औषधोपचारको उपयोगितालाई नकार्न सकिन्न । बिरामी पर्दा र आवश्यक रहँदा औषधोपचार गर्नै पर्छ । तर जीवनको अन्तिम सत्य मृत्यु नै हो । अनि मृत्यु हुन न कुनै रोग लाग्नु जरूरी छ न त कुनै रोग नलाग्दैमा कोही औषधोपचारको भरमा आरोग्य रहन सक्छ । टिबी, क्यान्सर र एड्सका रोगी पनि ठिक हुन सक्छन्, तर जो एक पटक जन्मेको छ त्यो ‘जन्म’ को रोगबाट कहिल्यै ठीक हुँदैन र जन्म हुनेको मृत्यु अवश्यम्भावी छ । किनकी जन्म आफैँमा एउटा अचूक घातक रोग हो र यसको कुनै उपचार असम्भव छ ।
Share on Google Plus

About Prawin

    Blogger Comment
    Facebook Comment

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

Loading...

LIVE TV NEWS 24

popads

PopAds.net - The Best Popunder Adnetwork